दार्जीलिङका वरिष्ठ नाटककार एवम् नाट्य कलाकार जीवन गुरुङलाई दोस्रो मनबहादुर गुरुङ स्मृति सम्मान प्रदान गरियो। सोनादा डिग्री कलेज अनि स्वर्गीय मनबहादुर गुरुङ स्मृति प्रतिष्ठानको तत्वावधानमा सोनादास्थित न्यु लाइट क्लबको प्रेक्षागृहमा बुधवार आयोजित कार्यक्रमबिच मनबहादुर गुरुङ स्मृति अन्तर विद्यालय तर्क प्रतियोगिता साथै दार्जीलिङका विशिष्ट नाटककार जीवन गुरुङलाई मनबहादुर गुरुङ स्मृति नाट्य सम्मानले सम्मानित गरियो। गुरुङलाई खदार्पणसहित टोपी, दोसल्ला, स्मृति चिन्ह, सम्बर्द्धना-पत्र प्रदान गरेर सम्मान जनाइएको थियो। यसैबिच, साहित्यकार हरिबहादुर मुखिया र नन्द हाङखिमलाई पनि सम्मान जनाइने काम गरियो।
कार्यक्रममा सोनादा क्षेत्रका विद्यालयहरूलाई लिएर अन्तरविद्यालय तर्क सभाको आयोजना गरिएको थियो, जसमा सोनादा क्षेत्रका 6 वटा विद्यालयहरुले भाग लिएका थिए। प्रतियोगितामा प्रथम न्युटन्स माइन्ड अंग्रेजी स्कूल, दोस्रो होली क्रस कन्या उच्चत्तर माध्यमिक विद्यालय भए भने बेस्ट स्पिकर सोनादा उच्चत्तर माध्यमिक विद्यालयले प्राप्त गऱ्यो।
मनबहादुर गुरुङ स्मृति प्रतिष्ठानका संयोजक प्रा. मेघनाथ छेत्रीले कार्यक्रमको अध्यक्षता गरेका थिए भने नाटककार नन्द हाङखिम प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमलाई युवाकवि नरेश कटुवाल अनि बुद्ध राईले सञ्चालन गरेका थिए भने स्वागत सम्बोधन मनबहादुर गुरुङकी छोरी मञ्जरी गुरुङले राखेकी थिइन्।


Leave a Comment